काठमाण्डौ,१९ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन ।
दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँ दिल्लीको हैदराबाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताए ।
भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचिनकालदेखि जोडिएको बताउँदै उनल भने , ‘अनादिकालदेखि हामी एकअर्काका सुख–दुःखका साथी हौँ ।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे ।
प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुन भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवम् गतिशील तुल्याउन देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्नुभएका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भने । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उहाँले व्यक्त गरे ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताए दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उनले दोहोर्याए ।
नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवर्द्धनमा भारतले सघाउने, नेपालले झेल्नुपरेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उहाँले आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गरे ।
भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै भारतका प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवर्द्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताए ।
काठमाण्डौ पशुपतिनाथ र वाराणसीको काशी, विश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उहाँले प्रधानमन्त्री देउवाले भोलि आइतवार गर्नुहुने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गरे

