मधेस प्रदेशमा अन्तर्राष्ट्रिय क्यान्सर अस्पताल खुल्दै

spot_img

जनकपुर,२८ चैत । जनकपुरधामस्थित विनयतारा क्यान्सर ट्रस्टले जनकपुरधाममा २०० शय्याको सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउने भएको छ ।

विनयतारा फाउण्डेसन (अमेरिका)सँगको सहकार्यमा निर्माण गर्न लागिएको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) आधुनिक अमेरिकी क्यान्सर अस्पतालजस्तै बनाइने फाउन्डेसनका अध्यक्ष डा. विनय साहले बताए ।

करिब १ अर्ब २५ करोडको लागतमा निर्माण हुन लागेको यस अस्पतालको भवन अमेरिकाको सनफ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको उनले जानकारी दिए ।

डा. साहले भने,‘पहिलो चरणमा यो अस्पताल १ लाख वर्ग फुटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौँ ।’ यो दक्षिण एसियाकै आधुनिक अस्पतालको रुपमा स्थापित हुने उनको दाबी छ ।

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको उनले बताए । जनकपुरधाममा हाल बिटिएफसिसीको २५ शय्याको अस्पताल सञ्चालनमा रहेको छ ।

विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमूल परिवर्तन ल्याउनेछ ।

उनले भने,‘हामी अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदै छौं । यसलाई मधेस परिवर्तनको अभियानको रुपमा हामीले लिएका छौं । यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसहरुले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाका लागि मधेस बिरामीहरुको गन्तव्यस्थल हुनेछ ।’

स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको विनयतारा क्यान्सर ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको हो । बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई विश्वस्तरीय अस्पतालको रुपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजना अगाडि बढाउने उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय