जनकपुर,२८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले देशैभरका ६ स्थानीय तह बाहेक ५० स्थानीय तह जित्ने दाबी गरेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको छ । नेकपा एमालेसँग चुनावी तालमेल भएमा त्यो भन्दा बढी जित्न सकिने नेताहरूले बताएका छन् ।
देशैभरका ६ महानगरपालिकामध्ये मधेस प्रदेशमा बीरगन्ज महानगर पालिका परे पनि लोसपाले जित्न निक्कै गाह्रो रहेको लोसपा कार्यकारिणी सदस्य एकवाल मियाँले स्वीकार गरे ।
तर, जनकपुर र कलैया उपमहानगरपालिका लोसपाको जित्ने अपेक्षा छ । यसअघि जनकपुर उपमहानगर पालिका तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकाले यस पटक पनि जित्ने अपेक्षा छ । गत आइतबार लोसपा जनकपुर उपमहानगरपालिकाको नगर समिति बैठकले ५/५ जना मेयर उपमेयरको नाम सिफारिस गरेको छ ।
मेयरमा मनोज चौधरी, परमेश्वर साह, जानकीराम साह, अमर परियार र सञ्जय चौधरी छन्। यस्तै उपमेयरमा विभा ठाकुर,विभा पाण्डे,रीता मिश्रा, पुनम झा मैथिल र पुनम साहको नाम सिफारिस भएको छ। मेयर र उममेयरमा सर्वसम्मत नभएपछि ५/५ जनाको नाम सिफारिस गरिएको हो।
कलैया उपमहानगरपालिका मेयर उपमेयर यसअघि दुवै काँग्रेसले जिते पनि यस पटक लोसपाको जित्न सकिने लिष्टमा छ। तर, सजिलै जित्न भने गाह्रो भएको मियाँले स्वीकार गरे । यदि एमालेसँग गठबन्धन भएमा भने सजिलै जित्न सकिने आङ्कलन छ। अरू नगरपालिका र गाउँपालिका गरेर ५० स्थानीय तह जित्न सकिने मियाँको दाबी छ।
लोसपाको मधेस प्रदेशमा सबैभन्दा बढी राम्रो जनमत भएकाले त्यहाँ भएका १३६ स्थानीय तहबाटै धेरै जित्ने दाउमा छ। अरू लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा सङ्गठन राम्रो नभए पनि जित्ने अपेक्षा छ।

