बीरगन्ज, १० बैशाख- स्थानीय तहको निर्वाचनमा महिलालाई कुनै पनि पदमा उमेदवार नबनाएको भन्दै बीरगन्जमा शनिबार विरोध प्रदर्शन भएको छ ।
नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा सहभागि महिलाहरूले “महिलाको सहभागीता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइदैन“ जस्ता नारा लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाउँदा संविधानमा महिलाले पाएको हक अधिकार मिचिएको र चुनावी गठबन्धनमा मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिएकोले महिला माथि अन्याय भइरहेको उनले बताइन् । साथै पर्साका पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको उनले बताइन् ।
संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान छ । चुनावी गठबन्धनको आफुहरु विरोधी नभएको भन्दै उनले तर दलहरुले गठबन्धन गर्दा महिलालाई नभइ पुरुषलाइ मात्रै उम्मेदवारमा अगाडि सारेको महिला नेतृहरुको आरोप छ ।
कोण सभालाई सम्बोधन गर्दै लोसपाकी नेतृ रम्भा मिश्रले गठबन्धनका नाममा सबै दलहरुले महिलालाई पन्छ्याउने काम भएको आरोप लगाइन् । पुरुषलाई मात्र उम्मेदवार बनाउदा संविधान पनि मिचिने भन्दै उनले तर राज्यले पनि संविधान मिच्नेहरुलाइ अंकुश नलगाएको गुनासो गरिन् ।

