बीरगन्ज ०५ साउन । प्रचण्ड गर्मीबीच पानी परेपछि पर्सा, बारा लगायत मधेसमा धेरै स्थानमा गर्मीबाट राहत मिलेको छ । करिब तीन सातापछि बुधबार दिउँसो झम्केर पानी परेपछि यहाँका किसानहरूले पनि राहत पएका छन् ।
पर्सा र बारामा पानी नपर्दा ७० प्रतिशतमात्र रोपाइँ भएको थियो । वर्षा भएपछि धान रोपाइँ गर्न पाइने भएकोले किसान खुसी भएका हुन् ।
पानीबेगर रोपेको धान पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएका किसानमा आजको वर्षाले खेती गर्न पाइने आश जागेको छ ।
त्यसै गरि महोत्तरीमा पनि १५ असारयता आज पानी परेको छ । किसान भन्छन् आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको उनिहरूकाे भनाइ छ । केहीबेरकै भए पनि आज मधेसका सबैजसो जिल्लामा वर्षा भएको छ ।
आजको वर्षाले चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईबस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।
यसैबीच मौसमविद्ले अब दुई/तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । पर्सा र बारामा हालसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

