जनकपुरधाम, पुस २ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन आयोगले प्रदेश सभा निर्वाचन परिणामको प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ ।
निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जवराले प्रदेश प्रमुख मिश्रलाई मधेश प्रदेशको सम्पूर्ण निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्दै प्रदेश सभामा यस पटक १० वटा दलले प्रवेश गर्न पाएको बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम प्रक्रिया पुरा गरि समानुपातिक निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको ७ दिन भित्रमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने काम भएको आयोगका सदस्य राणाले बताउनु भयो ।
सात वटै प्रदेशमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन भौतिक रुपमा नै बुझाउने आयोगको निर्णय अनुसार प्रमुख आयुक्त सहित सवै आयुक्तहरुले सात वटै प्रदेशमा पुगेर प्रतिवेदन बुझाउने काम भएको आयुक्त राणाले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनु भयो ।
मधेश प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक तर्फ गरेर १०७ जना सदस्य निर्वाचित भएकोमा जस मध्ये ६७ जना पुरुष अर्थात् ६१ प्रतिशत र ४० जना महिला अर्थात् ३९ प्रतिशतले प्रतिनिधित्व भएको छ । मधेश प्रदेशमा पहिलो निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागि रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
मधेश प्रदेशमा रहेको महिला तथा पुरुष गरेर ३३ लाख ६ हजार ६ सय २ मतदाता कायम रहेकोमा पहिलो हुने निर्वाचन तर्फ २२ लाख २५ हजार ७४६ अर्थात् ६५.७० प्रतिशत मतदान भएको छ । जस मध्ये २१ लख ४० हजार २३ मत अर्थात् ९६.१५ प्रतिशत सदर भएको थियो भने ८५ हजार ७२३ मत अर्थात् ३.८५ प्रतिशत बदर भएका थिए ।
समानुपातिक निर्वाचनमा २२ लाख ३० हजार ७०१ अर्थात ६५.८७ प्रतिशत मतदान भएको जसमध्ये २२ लाख ६ हजार २९ अर्थात् ९३.५३ प्रतिशत सदर भएको थियो भने १ लाख ४४ हजार ४०३ अर्थात ६.४७ प्रतिशत बदर भएको निर्वाचन आयोगको प्रदेशको निर्वाचन प्रतिवेदनमा उल्लेख रहेको छ ।
यसै गरि कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ७७९ जना उम्मेदवारको धरौटि जफत भएका थिए । प्रतिवेदन बुझाउने कार्यक्रममा प्रदेश प्रमुखका कार्यालयका सचिव राजेन्द्र पराजुली, प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितका उच्च अधिकारीहरु उपस्थित रहनु भएको थियो ।

