बीरगन्ज,१५ वैशाख । बीरगन्जका पत्रकार शम्भु कुमार सुमनले निजी सञ्चारमाध्यममाथि सरकारी विज्ञापन प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्दै प्रधानमन्त्री बालेन शाह लाई खुला पत्र लेखेका छन्।
करिब एक दशकदेखि पत्रकारितामा सक्रिय सुमनले हालै मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनले निजी तथा सामुदायिक सञ्चारमाध्यमहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन्। २०८२ चैत १८ गतेको निर्णयअनुसार अब सरकारी विज्ञापन र सूचना गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले निजी सञ्चारमाध्यमहरूलाई प्रत्यक्ष असर पारेको छ।
उनका अनुसार यस निर्णयका कारण धेरै सञ्चारकर्मीहरू तलबविहीन बन्ने अवस्थामा पुगेका छन्। यदि यही अवस्था लामो समयसम्म कायम रहेमा सञ्चार संस्था बन्द हुने र हजारौं रोजगारी गुम्ने जोखिम बढ्ने उनले चेतावनी दिएका छन्।
सुमनले सरकारी विज्ञापनमा हुने अनियमितता रोक्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पार्दै त्यसको दोष सम्पूर्ण निजी सञ्चारमाध्यमलाई दिनु अन्यायपूर्ण भएको बताए। उनले अनियमिततामा विज्ञापन एजेन्सीहरूको भूमिका बढी हुने उल्लेख गर्दै तिनैलाई कडाइ गर्नुपर्नेमा सरकार उल्टै सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको आरोप लगाए।
त्यस्तै, उनले विज्ञापन प्रणालीमा सुधारका लागि विभिन्न सुझावसमेत दिएका छन्—संघ, प्रदेश र स्थानीय तहअनुसार विज्ञापन वितरण गर्ने, टेन्डर सूचनालाई रकमका आधारमा विभिन्न स्तरका सञ्चारमाध्यममा प्रकाशन गर्ने, तथा सबै सञ्चारमाध्यमलाई डिजिटल अभिलेख राख्न अनिवार्य गर्ने जस्ता उपायहरू उनले प्रस्ताव गरेका छन्।
अन्त्यमा, उनले वर्तमान निर्णयले सूचना प्रवाह कमजोर बनाउने र सरकारी खर्चसमेत बढाउन सक्ने तर्क राख्दै उक्त निर्णय पुनर्विचार गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

