काठमाडौँ,१५ वैशाख । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको भनिएको एकता प्रक्रिया अझै पूर्ण रूपमा टुंगिन सकेको छैन। एकता घोषणा भएको पाँच महिनाभन्दा बढी बितिसक्दा पनि निर्वाचन आयोगका केही प्राविधिक विषय समाधान हुन बाँकी रहेका छन्।
पार्टी एकतापछि एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भए पनि कानुनी प्रक्रिया पूरा नभएको भन्दै निर्वाचन आयोग नेपाल ले आवश्यक कागजात सुधार गर्न पत्राचार गरेको हो।
जसपा नेपालका नेता जितेन्द्र सोनलका अनुसार केही व्यक्तिको नाम एकभन्दा बढी राजनीतिक दलमा देखिएको कारण समस्या आएको हो। “एकै व्यक्तिको नाम दुई दलमा देखिएकाले त्यसलाई सच्याउन आयोगले निर्देशन दिएको छ,” उनले बताए।
गत पुसको दोस्रो साता जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको थियो। सो क्रममा जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी समेत समाहित भएका थिए। तर, दर्ता प्रक्रिया पूर्ण नहुँदा एकता औपचारिक रूपमा टुंगिन नसकेको हो।
नेता डा. सुरेन्द्र झाका अनुसार प्राविधिक विषय मिलाउने काम भइरहेको छ। उनका अनुसार केही नेताहरूको दर्ता र पार्टी खारेजीसम्बन्धी प्रक्रिया अझै पूरा हुन बाँकी छ।
यता, वृषेशचन्द्र लालले भने आफू एकता प्रक्रियामा नरहेको स्पष्ट पारिसकेका छन् भने जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीको पार्टी दर्ता खारेज नभएसम्म प्रक्रिया पूरा नहुने बताइएको छ।
पार्टीभित्रका नेताहरूले भने सबै प्राविधिक विषय छिट्टै समाधान हुने दाबी गरेका छन्। साथै, अन्य मधेस केन्द्रित दलहरूसँग पनि एकीकरणबारे आन्तरिक छलफल भइरहेको जानकारी दिएका छन्।

