देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज पनि कोशी, गण्डकी र बागमती प्रदेशका केही पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भूभागमा सामान्यतः मौसम सफा रहने छ ।
सो प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात समेत हुनेछ । आज राति पनि कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोहीअनुसार, भोलि शुक्रबार पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
देशका अन्य उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । भोलि राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली कायमै रहने छ । त्यस्तै, फागुन २० गते शनिबार पनि देशको पहाडी भूभागमा आशिकदेखि सामान्य बदली हुनेछ ।
विभागले दिएको जानकारी अनुसार देशको पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ । देशको उच्च पहाडी भूभागको केही ठाउँमा हल्का हिमपात हुनेछ ।

