जनकपुरधाम, फाल्गुन २२ । मिथिलाञ्चलको महाकुम्भको रूपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्री जनकपुरधाम आउन लागेका छन्।
लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमाका सहभागीहरू सोमबार जनकपुरधाम फर्किन थालेका हुन्।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल-भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ।
बिसौलमा विश्राम गरेको परिक्रमाका सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुग्न थालेका हुन्।
जनकपुरधाम आएपछि परिक्रमाका सहभागी श्रद्धालुहरुले मंगलबार अन्तगृह परिक्रमा गर्नेछन्।
अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ। मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ।
अन्तगृह परिक्रमा गरेपछि त्यसको भोली पल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ।
हेर्नूहाेस् तस्बिरहरू: