ललितपुर-१ मा रास्वपा उम्मेदवार : बालेन्द्रका सल्लाहकार

spot_img

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर क्षेत्र नम्बर–१ बाट सुरेन्द्र बजगाईंलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने तयारी गरेको छ। महांकाल गाउँपालिका–४ कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सल्लाहकार हुन्।

बजगाईं काठमाडौं महानगरपालिकाको सहरी योजना आयोग अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्। नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव भएकाले उनलाई ललितपुर–१ का लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारिएको रास्वपाका नेताहरूको भनाइ छ।

यसअघि बजगाईंको नाम रास्वपाको समानुपातिक बन्दसूचीमा प्रस्ताव गरिएको थियो। बालेन सचिवालय तथा जेन–जी समूहबाट उनको नाम अगाडि सारिए पनि उनले प्रत्यक्षतर्फ चुनाव लड्ने इच्छा व्यक्त गरेपछि समानुपातिक सूचीबाट नाम हटाइएको हो।

ललितपुर–१ मा प्रत्यक्ष उम्मेदवारको खोजी भइरहेका बेला बालेन निकट सुरेन्द्र बजगाईं नै उपयुक्त रहेको निष्कर्षमा पार्टी पुगेपछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको बालेन निकट रास्वपाका एक नेताले जानकारी दिए।

ललितपुर क्षेत्र नम्बर–१ मा २०४८ सालदेखि नै स्थानीयभन्दा बाहिरका उम्मेदवारहरूको प्रभाव रहँदै आएको छ। यसअघि केशरबहादुर विष्ट, वर्षमान पुन, उदय शमशेर राणा, नवराज सिलवाललगायत नेताहरूले यस क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उदय शमशेर राणा विजयी भएका थिए।

केन्द्रको पहुँच, दलगत शक्ति र राष्ट्रिय स्तरको पहिचानका आधारमा उम्मेदवारहरू विजयी हुँदै आए पनि स्थानीय मुद्दा र आवश्यकताहरू प्राथमिकतामा पर्न नसकेको भन्दै बजगाईंले स्थानीय एजेन्डालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय