बीरगन्जमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ । हिन्दू धर्ममाथिको आस्थामाथि प्रहार गर्ने गरि समाचार लेखेको भन्दै अज्ञात समूहले मङ्गलवार बिहान पत्रिका जलाएका हुन् ।
साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखे पछि हिन्दू धर्ममाथिको आस्थामाथि प्रहार भएको भन्दै पत्रिका जलाइएको हो ।
चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको थियो।
सोही दिनदेखि हिन्दूवादी सङ्घ सङ्गठनहरूले कान्तिपुर पत्रिकाको विरोध गर्दै आईरहेका थिए । विरोधकै स्वरूपमा आज बीरगन्जको बाइपास रोडमा कान्तिपुर पत्रिका जलाउँदै उनीहरू कान्तिपुर पत्रिकाको विरोधमा नाराबाजी पनि गरेका छन् ।
‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारा लगाउँदै उक्त समूहले पत्रिका जलाएको छ भने समूहले कान्तिपुर पत्रिका वितरण गर्ने गाडी जलाउने समेत धम्की
दिएका छन् ।
पत्रिका जलाएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कोमल शाहले अज्ञात समूहले पत्रिका जलाएको हुँदा उनीहरूको खोजी भइरहेको नेपाल पोष्ट डेलीलाई बताए ।
समाचारप्रति चित्त नबुझे कानुनी व्यवस्था र प्रक्रिया भए पनि पत्रिका जलाउनु अनुचित कार्य भएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको बुझाई छ । उनले भने, ‘यसरी पत्रिका जलाउन पाइँदैन, यो सरासर गलत हो । यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको छ ।’ पत्रिका जलाउने कार्यमा संलग्नलाई खोजेर कानुनबमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।