सिर्सिया नदी सफाई: हात्ती आयो हात्ती आयो फुस्सा, मेयर र उद्योगी कसैले पुरा गरेरन् प्रतिवद्धता

spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीमा प्रदूषित पानी बगाउने कार्य उद्योगीहरुले १५ दिन भित्र नरोके कडा एक्सन लिने भनि दिएको चेतावनी गफैमा सीमित भएको छ । गएको वैशाख १० गते मेयर सिंहले उद्योगीहरुलाई आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुको माझ सिर्सिया नदीमा प्रदूषित पानी नबगाउने सामुहिक प्रतिवद्धता जनाउन लगाउँदै अन्तिम पटकका लागि भन्दै १५ दिने अल्टिमेटम दिएका थिए ।

उद्योगीहरुलाई दिएको समयसीमा नाघेको ३/४ दिन भइसक्दा पनि महानगरले कडा एक्सन लिन सकेको छैन ।
उद्योगहीहरुको कुरा धेरै पटक सनिसकेको र अब यस विषयमा कुनै कम्प्रोमाइज नगर्ने बताएका मेयर संहले १६ औं दिनमा आँफै अनुगमनमा निस्किने बताएका थिए । त्यस क्रममा प्रदूषित पानी बगाउने उद्योगहरुलाई हदैसम्मको कारवाही गर्ने र त्यो कारवाही कस्तो हुन्छ, त्यही दिन थाहा हुन्छ भनि कडा एक्सन लिने संकेत गरेका थिए ।

त्यतिबेला मेयरको हाउभाउ र बोलि सुन्दा अब अटेर गर्नेहरुको उद्योगमा सिल नै गर्ने गरी अगाडी बढ्छन् भन्ने धेरैले लागेको थियो । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने र कानूनको पालना नगर्ने उद्योगहरुलाई शक्ति सम्पन्न स्थानीय सरकार प्रमुखले चाहे असम्भव छैन भन्ने सबैलाई लागेको पनि थियो । र, अब वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा सङ्लो पानी बग्नेछ र नदी आसपास बसेका स्थानीय बासिन्दाले दुर्गन्धबाट मुक्त हुनेछन् भन्ने झिनो आशाको दियो बलेको थियो ।

तर प्रतिवद्धता जनाएको १६ औं दिनमा आँफै अनुगमनमा निस्किन्छु भन्ने मेयर २० औं दिन पुग्न लाग्दा समेत उद्योगहरुको अनुगमन तथा निरीक्षणमा निस्किेका छैनन् ।

उनी आफैँले आफ्नो प्रतिवद्धता पुरा गर्न सकेनन् । उनले कर्मचारी र आफ्नो सचिवालयका सदस्यहरुलाई मात्र पठाएर अनुगमन गरेको छ भन्ने गराएका छन् ।

त्यसैले सिर्सिया नदी सफाईमा मेयरको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी पनि सुरु भएको छ । नदी सफाईको नाममा उद्योगीहरुलाई दुख दिएर मेयरले अनुचित लाभ त लिन खोजेका हैनन् रु भन्ने आशंका आम नागरिकले गरेका छन् । केहीले भने हालै विभाजित भएको जनता समाजवादी पार्टीमा मेयर सिंह अशोक राई समूहमा लागेको र नयाँ पार्टी निर्माणका लागि समय दिनुपर्दा व्यस्त भएको बताउँछन् ।

यसैगरी महानगरका उपमेयर इम्तियाज आलम पनि उद्योगहरुको अनुगमन तथा निरीक्षणमा हिँडेका छैनन् । स्थानीय सरकार उपप्रमुखको हैसियतले उनले पनि उद्योगहरुको अनुगमन गर्ने र मापदण्ड पुरा नगर्नेलाई कारवाही गर्न सक्ने पदीय दायित्व विर्सेर मेयरकै बोलीमा लोलि मिलाउँदै बसेका छन् । विगत लामो समयदेखि सिर्सिया नदी प्रदूषित बनाउने उद्योगहरुलाई अन्तिम पटकका लागि दिएको समय सीमा घर्कि सकेपनि अटेर गरिरहेका उद्योगहरुलाई कडा एक्सन लिन मेयर र उपमेयरले कनि खुट्टा कमाएको हो भन्नेबारे सर्वत्र जिज्ञासा बढेको छ ।

अनुगमनको आँखा छल्ने काम मात्र गर्दैछन् उद्योगीहरु

केही उद्योगहरुले प्रतिवद्धता बमोजिम फोहोर पानीलाई प्रशोधन गरी नदीमा बगाएको पाइन्छ भने केही उद्योगहरुले भने हालसम्म पनि अटेरी गरेको पाइन्छ । गत मंगलबार उद्योगहरुको स्थलगत अनुगमन तथा निरीक्षणका लागि गएको पत्रकारसहितको महानगरको टोलीले अर्निका टेक्सटाइल लगायतका उद्योगहरुले प्रदूषित पानी नै नदीमा बगाएको पाइएको थियो ।
परवानीपुरस्थित अर्निकाले प्रशोधन केन्द्र निर्माणका लागि उल्लेख्य प्रयास नगरेको र तीन वटा पोखरी खनेर पानी जमाउने काम मात्र गरेको पाइएको छ । पोखरी भरिएपछि पानी स्वत नदीमै मिसिने भएकाले यो अनुगमनको आँखा छल्ने काम मात्र गरेको भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए । अर्निकाले विगतदेखि नै उद्योगको प्रदूषित पानी प्रशोधन गर्न अटेर गर्दै आएको छ । सिर्सिया नदी प्रदूषण गर्ने उद्योगमध्ये अर्निको टेक्सटाइल अग्रस्थानमा रहेको महानगरको वातावरण शाखाले जनाएको छ ।

यसैगरी, सिद्धी टेक्सटाइलले प्रशोधन केन्द्र निर्माणका लागि प्राविधिक टोली बोलाएर अध्ययन गर्ने काम गरिरहेको पाइएको छ । हालसम्म उसले पनि पाखेरीबाटै काम चलाइरहेको छ ।
यसैगरी मारुती पेपरले भने आफ्नै प्रशोधन केन्द्र बनाएर प्रदूषित पानी नियन्त्रणमा उत्कृष्ट काम गरेको महानगर वातावरण शाखा प्रमुख प्रकाश ऐरले बताए ।

यसैगरी दुर्गा पेपर एण्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको छ । यद्यपी उद्योगका अन्य हानिकारक पदार्थहरु भने पानीमा फाल्ने काम गर्दा नदी प्रदूषित हुने गरेको पाइएको छ । त्यसैले हानिकारक पदार्थहरु उद्योगभित्र व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरले बताए ।

टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र पर्ने नारायणी लेदर उद्योगमा पनि अनुगमन गरेको थियो । सो क्रममा नारायणी लेदर उद्योगले प्रशोधन केन्द्र निर्माण गरेको पाइएको छ । प्राविधिक टोली नहुँदा प्रशोधन केन्द्र सञ्चालन गर्न नसकिएको बताइएको छ ।

त्यसैगरी त्रिवेणी टेक्सटाइल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाएर प्रशोधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको बताएका छन् । अनुगमनमा पुगेको टोलीसमक्ष उद्योगले कम्तीमा २÷३ महिनाको समय थप गर्न माग गरेका छन् ।

३ महिनाको समय दिन महानगर तयार भएपनि उक्त अवधिभर उद्योगको प्रदूषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नपर्ने वातावरण निरीक्षक ऐरले बताए । अनुगमनको क्रममा महानगरपालिको प्रतिनिधिहरुको टोलीले अटेरी गर्ने तथा सिर्सिया नदी सफाई अभियानमा बाधक बन्ने उद्योगहरु बिरुद्ध कडा रुपमा प्रस्तुत हुने जनाएको छ ।
अनुगमन टोलीमा वीरगञ्ज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिका लगायतका कर्मचारी तथा प्रतिनिधि र पत्रकारहरु रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय