साउन ३२ , वीरगंज । वीरगंजमा सञ्चालित क्यासिनो (जुवा घर) हरुले गरेका अवैध क्रियाकलापबाट स्थानीय सरकारदेखि प्रहरी र पत्रकारसम्मले मोटो रकम असुल्ने गरेको बुझिएको छ । सरोकारवाला निकाय सबै तैँ चुप मैँ चुप भएर बस्दा यस क्षेत्रका क्यासिनोहरुको अवैध क्रियाकलाप बढोत्तरी हुँदै गएको छ ।
कानूनतः नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने भनेर क्यासिनो नियमावली, २०७० को परिच्छेद ३ मा दफा १८ मा उल्लेख गरिएको छ । तर यहाँका क्यासिनोहरु वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रा लि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोले नेपाली नागरिकहरुलाई नै प्रवेश गराएर खेलाउने गरेका छन् । उनीहरुले सेटिङ मिलाएर नेपाली नागरिकहरुलाई भारतीय नागरिकको परिचयपत्र बनाएर क्यासिनो खेलाउने गरेको तथ्य पटकपटक सार्वजनिक हुँदै आएका छन् ।
विभिन्न संचारमाध्यममा क्यासिनोको अवैध क्रियाकलापको समाचारहरु प्रकाशित तथा प्रशारण भइरहँदा पनि स्थानीय सरकार र पर्सा प्रहरी प्रशासन मौन रहनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले सिर्सिया नदी सफाईमा चासो र वीरगंजका अतिक्रमित सडक विस्तार लगायत जस्ता कार्य गरेर राम्रै चर्चा बटुले । तर मुख्य बजारमा रहेर मनोरञ्जनको नाममा खुलेका क्यासिनोबाट धेरै नेपालीहरु लुटिएर घरबारविहिन हुँदा पनि नजरअन्दाज गर्नुले शंकाको सुई उनीतिर पनि सोझिएको छ । नत्र अधिकार सम्पन्न स्थानीय सरकारले चाह्यो भने असम्भव के छ र ?
त्यसैगरी पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल पनि कमिशनको प्रलोभनमा परेर क्यासिनोको गैर कानूनी कार्यमा डण्डा चलाउन नसकेको कतिपयको बुझाई छ । कुनै पनि ठाउँमा गैर कानूनी कार्य भइरहेको, भएको वा हुन लागेको जानकारी प्राप्त भएपछि त्यहाँ गएर अनुसन्धान गर्ने र त्यस कार्यमा संलग्नालाई कारवाही प्रक्रिया अगाडि बढाउने दायित्व प्रहरी प्रशासनको हो । तर पर्सा प्रहरी हाँकी रहेका एसपी ढुंगेल सुरुमा आउँदा नेशनल मेडिकल कलेज प्रकरणबाट केही चर्चा बटुले पनि पछि त्याे पनि सेलाउन गयाे त्यसै गरि उनले क्यासिनोको अवैध क्रियाकलाप उपर एक्शन लिन सकेका छैनन्÷चाहेनन् । स्रोत भन्छ– प्रहरी प्रशासनसँगै सेटिङ मिलाएर क्यासिनोहरुले यस्तो कार्य गर्ने गरेका छन् । त्यसवापत उनीहरुले प्रहरीलाई महिनावरीका रुपमा मोटो रकम बुझाउने गरेको दावी स्रोतको छ ।
त्यसैगरी वीरगंजमा आफुलाई पत्रकारको नेता कहलाउने केही पत्रकारहरुको काम नै सत्यतथ्य समाचार प्रकाशित तथा प्रशारण गर्ने भन्दा पनि महिनावारी रकम असुलेर अवैध कार्यलाई बढवा दिने गरेको पाइएको छ ।
राष्ट्रिय दैनिकमा कार्यरत एकजना पत्रकारले मासिक ५ लाख रुपैयाँ लड्र्स दियालोको किङ्गस कलेक्सन प्रालिबाट जुवा खेलौन लगानीनै गरि उठाउने गरेको स्रोतले बतायो ।
उनले लड्र्स दियालोमा बार्गेनिङ गरेर ५ लाख रुपैयाँ उठाउने गरेको गाइँगुइ हल्ला वीरगंजमा चलेको छ । यसरी रकम असुल्नेमा अन्य पत्रकारहरु पनि रहेको स्रोत बताउँछ । उनीहरुले आफ्नो स्तर र क्षमता अनुसार रकम लिने गरेको बताइन्छ । सरोकारवाला निकायहरु नै आर्थिक प्रलोभनमा परेर मौन बस्दा धेरै नेपालीहरु घर न घाटका भएका छन् । जसका कारण यस क्षेत्रमा हत्या, हिंसा, लुटपाट, कुटपिट जस्ता अपराधिक क्रियाकलाप बढ्न गई शान्ति सुव्यवस्था नै खल्बलिने देखिन्छ ।

