वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारहरूलाई तथ्यमा आधारित र जिम्मेवार रिपोर्टिङ गर्न आग्रह गर्दै जनतालाई भ्रममा नपार्न सुझाव दिएका छन्।
शनिवार रेडियो सीमाञ्चल ९५.१ मेघाहर्जको उद्घाटन समारोहमा मेयर सिंहले भने, “पत्रकारहरूले नेताहरू र जनप्रतिनिधिहरूलाई सुझाव दिनु राम्रो हो, तर उनीहरूले आफैं पनि ती नै सुझावलाई आफ्नो काममा लागू गर्नुपर्छ।” पत्रकारितामा सकारात्मक सोच र इमानदारी आवश्यक रहेकोमा उनले जोड दिए।
मेयर सिंहले वीरगञ्ज महानगरलाई सफलतापूर्वक सञ्चालनमा चुनौतीहरूको सामना गरिरहेको र त्यसमा मिडियाको सहयोग महत्वपूर्ण रहेको बताए। उनले महानगरले गरेका राम्रा कामहरूको चर्चा नगर्दा आफूलाई दुःख लागेको पनि बताए। “यदि मैले कुनै भ्रष्टाचार गरेको छु भने त्यसको भण्डाफोर गर्न मिडियाले स्वतन्त्रता पाउनु पर्छ,” मेयर सिंहले भने। तर, गलत सूचना सम्प्रेषण नगर्न पनि उनले आग्रह गरे।
समारोहमा नेपाल पोस्ट मेडियाका प्रवन्ध निर्दशक सन्तोष साह, अध्यक्ष मनोज पटेल, खानेपानी मन्त्री प्रदीप यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, र अन्य सरोकारवाला व्यक्तिहरू उपस्थित थिए। सबै वक्ताहरूले रेडियो सीमाञ्चलको सफलताका लागि शुभकामना व्यक्त गरे।

