काठमाडौँ, २७ मसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स ‘प्लेअफ’मा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार टियू मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले अन्तिम एक खेल बाँकी हुँदै अन्तिम चारमा आफ्नो यात्रा निश्चित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले दिएको १ सय ४ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ वकेट गुमाएर पूरा गरेको थियो। जनकपुर जितसँगै ६ खेलबाट १० अङ्क बनाएर शीर्ष स्थानमा उक्लिएको छ। जनकपुरको यो छैटौं खेलमा पाँचौं जित हो ।
जनकपुरको जितमा जेमी निशमले २७ रन बनाउँदा लाहिरु मिलन्थाले १६ रज बनाए। त्यस्तै, अनिल शाहले ११ रन बनाउँदा हर्ष थकरले २५ रनको अविजित इनिङ्स खेले ।
काठमान्डुका लागि करण केसीले २ विकेट लिँदा साहव अलाम, गेर्हार्ड एरासमस र दिपेश कँडेलले समान एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमान्डुले १९.३ ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो। काठमाण्डुका लागि गेर्हार्ड एरासमसले २० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा स्टेफन एस्कान्जीले १७ रन बनाउँदा करण केसीले १९ रन बनाए। अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।
काठमान्डुविरुद्ध कसिलो बलिङ गरेको जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिँदा मोहमद मोहसिनले २ तथा किशोर महतो, अरनिको यादवले १–१ विकेट लिए ।




