मीनबहादुरले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो

spot_img

काठमाडाैं,०१ पुस । व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक समेत रहेका गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार खारेज भएसँगै एमालेलाई कार्यालय बनाउने बाटो खुलेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत तीन जनाले दिएको रिट खारेज गरेको हो ।

एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङले कीर्तिपुर नगरपालिकाको-२ ढुंगेअड्डामा एमालेलाई १० रोपनीभन्दा धेरै जग्गा दानमा दिएका थिए ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उक्त जग्गामा बन्ने केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका थिए । त्यसपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

जग्गा विवाद सम्बन्धी उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

२०७२ को भूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमालेको केन्द्रीय कार्यालय धुम्वाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा छ ।

गत असोजमा बाढीले च्यासलको पार्टी कार्यालयसमेत डुबानमा परेको थियो । यसले गर्दा नयाँ विकल्प खोज्नु परेको एमालेले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय