सामाजिक सञ्जालमा अनुशासन कायम गर्न राप्रपाद्वारा नयाँ कार्यविधि लागू

spot_img

काठमाडौँ, ०९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता तथा कार्यकर्ताको सामाजिक सञ्जाल गतिविधि व्यवस्थित गर्न विशेष कार्यविधि जारी गरेको छ । पार्टीको विचार, नीति, र मूल्य मान्यतासँग मेल नखाने सामग्री पोस्ट, लाइक, शेयर वा रिट्विट गर्न नपाइने व्यवस्था गरिएको छ ।

कार्यविधिको परिच्छेद १० को (ग) अनुसार, सदस्यहरूले प्रतिस्पर्धी पार्टी, व्यक्ति, वा समूहले पार्टीलाई हानी पुर्‍याउन सक्ने सामग्री पोस्ट, लाइक, वा रिट्विट गर्न पाउने छैनन्। साथै, सामाजिक सञ्जालमा छद्म नामको प्रयोग गर्न पनि निषेध गरिएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यो कार्यविधि पार्टीको विचार र निर्णयलाई जनतासम्म सुसंगत रूपमा पुर्‍याउन, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, र पार्टीलाई संगठित बनाउने उद्देश्यले ल्याइएको हो। केन्द्रीय प्रचार विभागद्वारा तयार गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ ।

प्रवक्ता श्रेष्ठले भने, “सामाजिक सञ्जालको मर्यादित प्रयोगबाट पार्टी र जनसमुदायबीच सुदृढ सम्बन्ध विस्तार गर्दै पार्टीलाई सबल, सक्षम, र विश्वसनीय बनाउने लक्ष्य छ। कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिलाई अन्त्य गर्ने विश्वास लिइएको छ ।”

राप्रपाको यो कदमले सामाजिक सञ्जालमा पार्टी अनुशासन र सुसंगतता कायम गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय