माओवादी नेता सापकोटाले मागे गृहमन्त्री लेखकको राजीनामा

spot_img

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता र युथ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनुपर्ने बताएका छन्। उनले सरकारको सुरक्षा व्यवस्थामा कमजोरी देखिएपछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

दीपशीखाले कास्की प्रहरीले हिरासतमा राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो बाहिर ल्याएको प्रसंग उठाउँदै गृहमन्त्रीलाई कठोर आलोचना गरेका छन्। उनले भने, “गृहमन्त्रीले सुरक्षा व्यवस्थामा ठुलो चूक गरेका छन्। फोटो खिच्नेलाई पक्राउ गरेको र खिच्न दिनेलाई केही नगर्ने सरकार नाङ्गै हिँडेको हो ।”

दीपशीखाले सरकारको दोहोरो मापदण्ड र असमान कारबाहीको आलोचना गर्दै भने, “डा. निकोलसलाई कारबाही गरिएको छ, तर फोटो खिच्न दिनेलाई कुनै कारबाही गरिएको छैन। यो सरकार नाङ्गै हिँडिरहेको हो ।”

नेता दीपशीखाले वर्तमान सरकारले सहकारी घोटालामा चुप्पी साधेको आरोप पनि लगाए। उनले भनें, “सरकार एक अर्ब ५१ करोडको मुद्दामा मात्र ध्यान दिइरहेको छ, तर ८५ अर्बको सहकारी घोटालाको बारेमा मौन छ ।”

साथै उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलका नाममा रहेको सहकारी घोटालामा सरकार अनुसन्धान गर्न चाहँदैन भन्ने आरोप पनि लगाए ।

दीपशीखाले सरकारको असमान नीति र सुरक्षा व्यवस्थामा कमजोरी देखाउँदै गृहमन्त्रीलाई राजीनामा दिनुपर्ने बताएका छन्। यस्तै, सहकारी घोटालामा अनुत्तरित प्रश्न उठाउँदै वर्तमान सरकारको मापदण्ड र प्राथमिकतामा सुधारको आवश्यकता रहेको बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय