पोखरा, १४ माघ । जिल्ला अदालत कास्कीको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। आइतबार जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छाड्ने आदेश भएसँगै सोमबार उनी उच्च अदालत पोखरा पुगेका हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो।
धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ।
माघ ७ गते रवि लामिछानेलगायत सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको हो।
उच्चका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो।
माघ ८ गते न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो।

