सिन्धुपाल्चोक,१७ माघ । जिल्लाको सुनकोसी गाउँपालिका वडा ६ सानोपाँखमा बुधबार साँझ विद्युत् सर्ट भएर आगलागी भएको छ । जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार यहाँका स्थानीय रमेश थापाको चार कोठे घरमा आगो लाग्दा अन्नपात, लत्ताकपडा, दराजजस्ता सामाग्री जलेर नष्ट भएका छन् ।
आगलागीको जानकारी पाएलगत्तै प्रहरी चौकी ठूलोपाखरबाट चार जना सुरक्षाकर्मी खटिएका थिए । बुधबार साँझ अचानक लागेको आगो केही समयपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
घरमा राखिएका दुई लाख पचास हजार बराबरको सामाग्री क्षति भएको अनुमान गरिएको छ । समयमा सजगता अपनाएर आगो निभाउन सकेका कारण मान्छे र अन्य आसपासका घरलाई केही हुन नपाएको स्थानीयले बताएका छन् ।

