काठमाडाैं,१० चैत । अब विदेशमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने भएका छन्। डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोष बीच भएको सम्झौतासँगै प्रवासी नेपालीहरूलाई कोषमा योगदान दिन थप सरल बनाइएको हो।
सम्झौतामा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला बीच हस्ताक्षर भएको छ।
सम्झौताअनुसार, अब ईसेवा मनि ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरू मार्फत प्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहज रूपमा रकम पठाउन सक्नेछन्।
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोईरालाले यस साझेदारीले प्रवासी नेपालीहरूका लागि सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्दै भुक्तानी प्रक्रियालाई सरल, प्रभावकारी, र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे।
उनले भने, “हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा खुशी छौं। प्रवासी नेपालीहरूले अब सहज रूपमा कोषमा योगदान गर्न सक्नेछन्, जसले उनीहरूको भविष्य सुरक्षित बनाउन मद्दत गर्नेछ।”
यस सम्झौताले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने र नयाँ प्रविधिको उपयोग गर्दै वित्तीय पहुँच वृद्धि गर्ने विश्वास गरिएको छ।

