उदयपुर, १७ चैत्र । उदयपुर जिल्ला प्रहरी कार्यालयले शनिबार राति ऐतिहासिक रूपमा ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। बेलका नगरपालिका-६ असारे मूर्तिखोला किनारमा बनमारा झाडीमा लुकाई राखेको ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प रामपुरठोक्सिला र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले ३९ वटा बोरा भित्र प्लास्टिकमा बेरेर राखिएको गाँजा बरामद गरेको हो। उक्त गाँजा अहिले रामपुरठोक्सिलामा राखिएको छ र यसमा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी छ।
उदयपुरका सुरक्षाकर्मीले गाँजा भारततर्फ लैजान तयार गरि राखिएको अनुमान गरेका छन्। उक्त गाँजा खोटाङ, भोजपुर र धनकुटाका क्षेत्रमा उत्पादित गरिएका थुप्रै गाँजा ओसारपसारका घटनाहरुको एक हिस्सा भएको बुझिएको छ।
यसैगरी, प्रहरीले शनिबार राति कटारी, त्रियुगा, चौदण्डीगढी नगरपालिकाबाट आधा दर्जन बढी युवालाई लागु औषध सेवन र कारोबारमा संलग्नता देखेर पक्राउ गरेको छ। प्रहरीले विशेष अपरेसन सञ्चालन गरेर लागु औषध नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ।



