काठमाडौँ, २८ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता निजी क्षेत्रमा नरहेको बताएका छन्।
महासंघको ५९ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ढकालले भने, “युवाहरू जुन अर्थतन्त्रले रोजगारी दिन सक्छ, त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेको हो। अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ, निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ। तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता निजी क्षेत्रमा छैन।”
अध्यक्ष ढकालले नेपाली अर्थतन्त्रको प्रगति र दक्षिण कोरियासँगको तुलनामा नेपालको अवस्था पनि प्रस्तुत गरे। “सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब १०० डलर थियो। अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर छ,” उनले भने।
उनले नेपालको प्रगति भएको भए पनि अपेक्षित गति र परिणामसँगको तुलना गर्दा असन्तुष्टि व्यक्त गरे। “ठूला अर्थतन्त्रमा हामीले काम पाउने त भयौ तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौ,” उनले भने।

