काठमाडाैं, ३ बैशाख ।इजरायलले राखेको छ-साता लामो युद्धविरामको प्रस्तावलाई हमासले अस्वीकार गरेको छ। बीबीसीका अनुसार, इजरायलले युद्धविरामको साटो हमासले हतियार त्याग्नुपर्ने सर्त अघि सारेपछि उक्त प्रस्ताव अस्वीकार गरिएको हो।
एकजना वरिष्ठ प्यालेस्टिनी अधिकारीले जनाएअनुसार, इजरायलको प्रस्तावमा युद्ध अन्त्यको कुनै स्पष्ट प्रतिबद्धता थिएन। साथै, हमासले राख्दै आएका मुख्य मागहरूबारे पनि प्रस्तावमा उल्लेख थिएन। यसको विपरित इजरायलले हमासले बन्धक बनाएका मध्ये आधा व्यक्तिहरू रिहा गर्नुपर्ने सर्त राखेको थियो।
यो प्रस्ताव इजरायलको सैन्य कारबाही गाजामा जारी रहेको बेला आएको हो। हालै गाजाको खान युनिसस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा हमासका एक नेता मारिएको इजरायलले दाबी गरेको छ।
यता, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले गाजामा मानवीय अवस्था युद्ध सुरु भएयताकै सबैभन्दा खराब अवस्थामा पुगेको बताएका छन्। खाना, औषधि र सुरक्षित बासको अभावमा लाखौँ मानिस संकटमा परेका छन्।

