काठमाडौं,२२ वैशाख । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दा राज्यले मानवीय दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् । उनले व्यवस्थापनको विकल्प नदिई बस्ती हटाउँदा अवस्था झनै जटिल बनेको टिप्पणी गरेका छन् ।
कीर्तिपुरस्थित सुकुमबासीका लागि बनाइएको होल्डिङ सेन्टरको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले विस्थापित नागरिकको अवस्था निकै कठिन र पीडादायी रहेको बताए । उनका अनुसार अहिले सेल्टरमा हजारौँ मानिस अस्थायी रूपमा बस्न बाध्य छन्, जसले बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा र दैनिकीमा गम्भीर असर परेको छ ।
उनले होल्डिङ सेन्टर स्वयं जोखिमयुक्त क्षेत्र भएको उल्लेख गर्दै एउटै टेन्टमा धेरै परिवार कोचिएर बस्नुपर्ने अवस्था स्वास्थ्य र सामाजिक दुवै हिसाबले असहज रहेको बताए । कतिपय बालबालिकाको पढाइ प्रभावित भएको, बिरामीको उपचारमा समस्या आएको र रोजगारी गुमेकाले आर्थिक दबाब बढेको उनले बताए ।
घिसिङले सरकारसँग पहिले व्यवस्थित पुनःस्थापनाको योजना बनाएर मात्र बस्ती हटाउनुपर्ने सुझाव दिए । उनका अनुसार “विस्थापितहरूको उचित व्यवस्थापन नगरी गरिएको हटाउने प्रक्रिया गलत दिशामा गएको” हो ।
उनले सुकुमबासी समस्या देशभरकै साझा समस्या भएको भन्दै वास्तविक भूमिहीन र अवैध रूपमा सरकारी जग्गा कब्जा गर्नेबीच स्पष्ट छुट्याउनुपर्ने आवश्यकता औंल्याए । साथै, संविधानले सुनिश्चित गरेको आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारलाई व्यवहारमै लागू गर्ने गरी एकीकृत समाधानको खाका ल्याउन सरकारलाई आग्रह गरे ।

