काठमाडौं,२२ वैशाख । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गर्न अस्वीकार गरेको छ।
न्यायाधीश मोना सिंहको इजलासले उनलाई हिरासतमा राखिरहनुपर्ने अवस्था नदेखिएको भन्दै म्याद थप अनुमति नदिएको हो। आदेशपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।
अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार पर्याप्त नभएको उल्लेख गरिएको छ।
यसअघि सर्वोच्च अदालतले पनि थुनामा राखेर अनुसन्धान अघि बढाइएको विषयमा प्रश्न उठाउँदै धरौटी र जमानतको विकल्प हुँदा हिरासत आवश्यकताको समीक्षा गर्नुपर्ने संकेत गरेको थियो।
सीआईबीले उनलाई धितोपत्र र बीमा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अदालतको पछिल्लो आदेशसँगै अनुसन्धान प्रक्रिया हिरासतबाहिरै अघि बढ्ने भएको छ।

