बीरगन्ज चिनी कारखानाको ‘हत्या’ गरिएको हो, हत्याराहरू बजारमै घुमिरहेका छन् : सभापति अन्सारी

spot_img

बीरगन्ज,२२ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगन्ज चिनी कारखाना योजनाबद्ध रूपमा बन्द गराइएको दाबी गर्दै त्यसलाई ‘औद्योगिक हत्या’ को संज्ञा दिएका छन् ।

मंगलबार उद्योग मन्त्रालयका मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनुमा गम्भीर चलखेल भएको आरोप लगाए । उनका अनुसार, “कारखानाको हत्या भएको हो, तर यसका जिम्मेवारहरू अझै खुलेआम बजारमै घुमिरहेका छन्।”

अन्सारीले कारखाना बन्द हुँदा मजदुर, कर्मचारी र उखु किसान सबै प्रभावित भएको उल्लेख गर्दै निजी क्षेत्रका केही चिनी उद्योगहरू भने फाइदामा चलिरहेको आरोप लगाए । उनले किसानलाई उखु उधारोमा दिन बाध्य पारिने र उद्योगीहरूले अग्रिम पैसा लिएर असमान व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

उनले चिनी उद्योगमा आर्थिकभन्दा बढी राजनीतिक प्रभाव हावी रहेको टिप्पणी गर्दै यसको सुधार आवश्यक रहेको बताए । साथै, नेपालमा चिनी उत्पादन कम हुनु र गुणस्तर पनि कमजोर रहेको उनको भनाइ थियो ।

सभापति अन्सारीले औद्योगिक प्रदूषणका कारण स्थानीय क्षेत्रमा स्वास्थ्य समस्या बढिरहेको उल्लेख गर्दै क्यान्सर र स्ट्रोकजस्ता रोग बढ्दो क्रममा रहेको दाबी गरे । बिहानको समयमा हावामा प्रदूषण अत्यधिक देखिने भन्दै तत्काल नियन्त्रण आवश्यक रहेको उनले बताए ।

त्यसैगरी, उद्योगहरूले सार्वजनिक जग्गा र खोलानाला अतिक्रमण गरेको विषयमा पनि उनले गम्भीर आपत्ति जनाए । यस्ता अतिक्रमण हटाउन मन्त्रालयले विशेष टोली परिचालन गर्नुपर्ने उनले सुझाव दिए ।

भन्सार नाकामा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्दै आधुनिक स्क्यानर प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो । यसले चोरी पैठारी नियन्त्रण हुनुका साथै व्यापार प्रक्रियामा पारदर्शिता आउने उनले बताए ।

अन्सारीले यी सबै समस्याको समाधानका लागि सरकार तत्काल सक्रिय हुनुपर्ने र संसदीय समितिले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय