काठमाडौं,२२ वैशाख । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा गरेको सवारी जाँच अभियानका क्रममा कुल २ हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गर्ने चालकहरूबाट करिब २४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १८४ जना, रातोबत्ती काट्ने १५७ जना, तीव्र गतिमा सवारी चलाउने १२४ जना र लेन अनुशासन तोड्ने २१९ जना कारबाहीमा परेका छन् ।
त्यस्तै फुटपाथमा सवारी चलाउने १२३ जना, हर्न निषेध उल्लङ्घन गर्ने ७३ जना, एकतर्फी सडकमा सवारी चलाउने १०५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १९५ जना चालक पनि कारबाहीमा परेका छन् ।
प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन रोक्न नियमित जाँच अभियान तीव्र पारिएको छ । उनले मापसे गरी सवारी चलाउनु कानुनविपरीत मात्र नभई दुर्घटनाको प्रमुख कारण पनि भएको बताए ।
ट्राफिक प्रहरीले चालकहरूलाई सचेत रहन आग्रह गर्दै, शंका लागेमा यात्रु वा सर्वसाधारणलाई १०३ वा १०० नम्बरमा खबर गर्न पनि अनुरोध गरेको छ ।

