काठमाडौं, ६ वैशाख । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आउँदो जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
केही दिनअघि सार्वजनिक गरिएको टिजरले दर्शकको चासो बढाएको छ। टिजर हेर्दा चर्चित चलचित्र ‘पशुपतिप्रसाद’को झल्को दिने प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।
चलचित्रको नाम ‘के घर के डेरा : घर नं २’ राखिएको भए पनि यो दुई वर्ष अघि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल भने होइन। निर्देशक खनालले स्पष्ट पारेका छन्, “यो नयाँ कथा र नयाँ सन्देशसहितको स्वतन्त्र फिल्म हो।”
उनका अनुसार, पहिलो संस्करण कमेडी प्रधान भए पनि ‘घर नं २’ सामाजिक विषयवस्तुमा आधारित ड्रामा हो। “यो मेरो वास्तविक शैलीमा बनेको सिनेमा हो,” खनाल भन्छन्, “मैले सामाजिक ड्रामा निर्माण गर्न रुचाउने भएकोले यो फिल्म त्यसै दिशामा केन्द्रित छ।”
चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका छन्, जसले ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, र ‘एक्लो’ जस्ता चर्चित कृतिहरू लेखेका थिए। यो उनीद्वारा लेखिएको पहिलो फिल्म स्क्रिप्ट हो।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी लगायत लोकप्रिय कलाकारहरूको अभिनय देख्न पाइनेछ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुति हो। चलचित्रका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने युवराज कार्की कार्यकारी निर्माता हुन्। छायांकन कृष्णबहादुर थापाले गरेका छन्।

