काठमाडौं, ११ वैशाख । नेपालको राजनीतिक इतिहासमा एक नयाँ मोड ल्याउने गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आगामी वैशाख १७ गते एकता घोषणा गर्ने तयारीमा छन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले औपचारिक रूपमा वैशाख १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
सचिवालयले भनेको छ, “नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने, इतिहासमै नभएको अभूतपूर्व एकता हुँदैछ।”
पछिल्ला केही हप्ता यता यी दुई दलबीच लगातार वार्ता र समन्वय भइरहेको थियो। शीर्ष नेताहरूबीच भएका छलफलहरू अब निष्कर्षमा पुग्न लागेका छन्।
विशेषगरी मधेस केन्द्रित मुद्दाहरू उठाउँदै आएका यी दुई दलको मिलनले आगामी राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको छ।



