पर्यटकको रोजाइमा पर्न थाल्यो पर्सा राष्ट्रिय निकुञ्ज

spot_img

बीरगन्ज,१५ वैशाख । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण पर्सा राष्ट्रिय निकुञ्ज अहिले आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेषगरी नेपालमै पाइने रैथाने हात्तीको प्रमुख वासस्थानका रूपमा चिनिने यो निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ।

निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगत का अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४१३ जना पर्यटकले भ्रमण गरेका छन्, जसमा अधिकांश आन्तरिक पर्यटक रहेका छन्। सार्क राष्ट्रका १४ जना र अन्य मुलुकका एक जना पर्यटक पनि निकुञ्ज पुगेका छन्।

२०७४ सालमा नेपालको १२औँ निकुञ्जको रूपमा घोषणा गरिएको यो क्षेत्र पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको छ। यहाँ ऐतिहासिक माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर, साथै कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक स्थलहरू पर्यटकका मुख्य आकर्षण बनेका छन्।

स्थानीय सुभाष बुढाथोकीका अनुसार हरियाली जंगल, वन्यजन्तु अवलोकन र हात्ती सफारीले पर्यटकलाई लोभ्याइरहेको छ। निकुञ्जभित्र भ्यु टावर, जिप सफारी र निजी सवारीमार्फत भ्रमणको सुविधा समेत उपलब्ध छ।

निकुञ्ज प्रमुख रामचन्द्र खतिवडा ले पानीको अभाव समाधान गर्न कृत्रिम पोखरी निर्माण गरिएपछि वन्यजन्तुको संख्या समेत बढेको जानकारी दिएका छन्। पछिल्लो गणनाअनुसार यहाँ पाटेबाघको संख्या ४१ पुगेको छ।

६२७ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटेबाघ, गैँडा, भालु, चितुवा, जंगली कुकुर, नीलगाईलगायत ३७ प्रजातिका स्तनधारी, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन्।

प्रवेश शुल्क नेपालीका लागि १०० रुपैयाँ, सार्क देशका लागि ७५० रुपैयाँ र अन्य विदेशीका लागि १,५०० रुपैयाँ तोकिएको छ। निकुञ्ज प्रशासनले मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विस्तार र प्रचारप्रसारलाई प्राथमिकता दिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय