पाकिस्तानको बलुचिस्तानमा स्कुल बस लक्षित बम आक्रमण, ५ को मृत्यु

spot_img

काठमाडाैं,०७ जेठ । पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानमा एक स्कुल बसमा बम विस्फोट हुँदा कम्तीमा ५ जनाको ज्यान गएको छ, जसमा ३ जना बालबालिका रहेका छन्। घटनामा ३८ जना घाइते भएको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान ७:४० बजे खुझदार भन्ने दुर्गम क्षेत्रमा स्कुल बसमा विस्फोट भएको हो। बसमा करिब ४० जना विद्यार्थी सवार थिए। विस्फोटपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घटनास्थल वरिपरि विद्यार्थीका झोलाहरू छरिएका तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।

हालसम्म आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन। तर बलुचिस्तान क्षेत्रमा विगत लामो समयदेखि सक्रिय पृथकतावादी समूहहरू र सरकारबीच द्वन्द्व चलिरहेको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले घटनाको तीव्र निन्दा गर्दै यसलाई “निर्दयी आतंकी हमला” बताएका छन्। “बालबालिकालाई लक्षित गरेर यस्तो हिंसा गर्नेहरू मानवता विरोधी छन्,” उनले भने।

यसबीच पाकिस्तानी सेनाले उक्त आक्रमण भारत र बलुचिस्तानमा सक्रिय विद्रोही समूहहरू, विशेषतः बलुचिस्तान लिबरेसन आर्मी (BLA) सँग जोडिएको आशंका व्यक्त गरेको छ। तर भारततर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।

यसअघि पनि बलुचिस्तानमा BLAले पटक–पटक सुरक्षा बलमाथि आक्रमण गर्दै आएको छ। मार्चमा सिबी जिल्लामा भएको रेल आक्रमणमा २५ जनाको मृत्यु भएको थियो, जसको जिम्मेवारी BLAले लिएको थियो। BLA बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौँदेखि सशस्त्र संघर्ष गर्दै आएको समूह हो, जसलाई पाकिस्तानसहित अमेरिका, बेलायतजस्ता मुलुकले आतंकवादी संगठनको सूचीमा राखेका छन्।

मानवअधिकारसम्बन्धी रिपोर्टहरूमा बलुच जातीय समुदायमाथि पाकिस्तानका सुरक्षा निकायहरूले दमन, अपहरण, यातना र गैरन्यायिक हत्याजस्ता कार्य गर्दै आएको आरोप लाग्दै आएको छ। पछिल्लो दुई दशकमा सयौँ बलुच नागरिक मारिएका तथा हजारौँ बेपत्ता पारिएको आरोप बलुच कार्यकर्ताहरूले लगाउँदै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय