भारतका १३ विश्वविद्यालयमा नेपाली भाषा पढाइ

spot_img

काठमाडौँ,०८ जेठ ।  नेपाल र भारतबीच नेपाली भाषा तथा साहित्य विषयमा शैक्षिक सहकार्य मजबुत बनाउने उद्देश्यसहित नइ एकेडेमीले दुई दिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने तयारी गरेको छ। सम्मेलनमा दुवै देशका विश्वविद्यालयहरूबाट प्राप्त कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

सम्मेलनका लागि विद्यावारिधि (PhD) तहमा अध्ययन हुने नेपाल र भारतका विश्वविद्यालयहरूबाट कार्यपत्रहरू संकलन भइसकेका छन्। ती सबैलाई समेटेर ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको एक नौ सय पृष्ठको ग्रन्थ प्रकाशित गरिने तयारी भइरहेको नइ एकेडेमीले जनाएको छ।

भारतका १३ वटा विश्वविद्यालयहरूबाट नेपाली भाषा तथा साहित्य विषयमा केन्द्रित कार्यपत्रहरू प्राप्त भएका छन्। ती विश्वविद्यालयहरूमा कलकत्ता, पटना, काशी हिन्दु, उत्तर बङ्ग, सिक्किम, कञ्चनजङ्घा, सम्पूर्णानन्द संस्कृत, सिद्धार्थ, गौहाटी, डिब्रुगड, पूर्वोत्तर पर्वतीय, मणिपुर र असम विश्वविद्यालय समावेश छन्। यी विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको पठनपाठन र अनुसन्धानको अवस्था, सामग्री र योगदानसम्बन्धी विवरण कार्यपत्रहरूमा विश्लेषण गरिएको छ।

सम्मेलनमा नेपाल र भारतका गरी करिब ३५० जना विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता हुने अनुमान गरिएको छ। साथसाथै विद्यावारिधि अध्ययन गरिरहेका शोधार्थी र दर्शनाचार्य स्तर पूरा गरेका विद्यार्थीहरूलाई समेत सहभागी गराउने तयारी गरिएको छ।

सम्मेलनका संयोजक प्रा. डा. महादेव अवस्थी, सल्लाहकार प्रा. केशव सुवेदी र सदस्यसचिव नरेन्द्रराज प्रसाईं रहेका छन्। उनीहरूले नेपाली भाषा र साहित्यको विकासमा विश्वविद्यालयहरूको भूमिकालाई थप मजबुत बनाउने उद्देश्यसहित यो सम्मेलनको आयोजना हुन लागेको जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय