काठमाडौं,०९ जेठ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना प्रक्रिया रोक्ने निर्णय लिँदै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ठूलो हलचल ल्याएको छ। ट्रम्प प्रशासनले विश्वविद्यालयलाई लेखिएको चिठीमार्फत हार्वर्डको Student and Exchange Visitor Program (SEVP) को प्रमाणीकरण रद्द गरेको जानकारी दिएको हो।
यो कार्यक्रम अमेरिकी आन्तरिक सुरक्षा विभाग (DHS) अन्तर्गतको Homeland Security Investigations द्वारा निगरानीमा राखिएको थियो। विभागकी सचिव क्रिस्टी नोएमले X (पूर्व ट्विटर) मार्फत जानकारी दिँदै हार्वर्डले कानूनको पालना नगरेको आरोप लगाउँदै कार्यक्रम रद्द गरिएको बताइन्।
हार्वर्डका अनुसार अघिल्लो शैक्षिक वर्षमा विश्वविद्यालयमा ६,७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए, जसले कुल विद्यार्थी संख्याको करिब २७.५% ओगटेका थिए। यो निर्णयले ती हजारौं विद्यार्थीको भविष्य अन्योलमा पारेको छ।
विश्वविद्यालयले ट्रम्प प्रशासनको निर्णयलाई “गैरकानुनी र अन्यायपूर्ण” भन्दै आपत्ति जनाएको छ। हार्वर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वागत गर्न प्रतिबद्ध छौं। ती विद्यार्थीहरूले हाम्रो क्याम्पसलाई मात्र होइन, अमेरिकी समाजलाई पनि अतुलनीय रूपमा समृद्ध बनाएका छन्।”
सरकारसँगको तनावको बीचमा हार्वर्डले संघीय अनुदानका तीन प्रमुख स्रोतबाट सहायता गुमाइसकेको छ। विश्वविद्यालयका तर्फबाट एलन गार्वरले आर्थिक संकट झेलिरहेको भन्दै पूर्व विद्यार्थीहरूसँग सहयोगका लागि अपिलसमेत गरेका छन्।
हार्वर्डमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा निराशा र असमञ्जस फैलिएको छ। केनेडी स्कूलकी अस्ट्रेलियन विद्यार्थी सारा डेभिसले भनिन्, “हामीले स्नातक गर्न पाँच दिन बाँकी रहँदा यस्तो खबर आएको छ। यसले हाम्रो भविष्य अन्योलमा पारेको छ।”

