अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

spot_img

काठमाडाैं,१० जेठ । बाक्लो कुहिरो र खराब मौसमबीच उडिरहेको एक सानो निजी विमान अमेरिकी सहर सान डिएगोको आवासीय क्षेत्रमा खस्दा पाइलटसहित ६ जनाको ज्यान गएको छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान बिहीबार बिहान ३:४७ बजे विद्युत् तारमा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हो। विमानमा आगलागी भएपछि वरपरका घरहरूमा पनि क्षति पुगेको जनाइएको छ।

विमान चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको बताइएको छ। उक्त दुर्घटनामा शापिरो र अन्य पाँचजना सवारको मृत्यु भएको पुष्टि गरिएको छ।

सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा विमानका टुक्रा झर्दा कम्तीमा १० घरमा सामान्य क्षति पुगे पनि जमिनमा रहेका कोही गम्भीर घाइते भएका छैनन्।

संगीत संस्था साउन्ड ट्यालेन्ट ग्रुप ले एक वक्तव्य जारी गर्दै भन्यो, “हाम्रो सहसंस्थापक तथा प्रिय साथीहरूको असामयिक निधनले हामी मर्माहत भएका छौँ। यो कठिन घडीमा पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।”

दुर्घटनाको कारण खुल्न नसकेको भए पनि प्रारम्भिक अनुसन्धानबाट विमानस्थलमा त्यतिबेला अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्र नचलिरहेको पाइएको छ। साथै, विमान चालकले आपतकालीन सन्देश नपठाएको पनि जानकारीमा आएको छ। एनटीएसबीले पूर्ण रिपोर्ट आउन अझै केही हप्ता लाग्ने जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय