लालू यादवले जेठो छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट निष्कासित गरे

spot_img

काठमाडौं, ११ जेठ । बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (राजद) का प्रमुख नेता लालूप्रसाद यादवले आफ्नो जेठो छोरा तेजप्रताप यादवलाई पार्टी र परिवार दुवैबाट निष्कासन गर्ने निर्णय सार्वजनिक गरेका छन्।

लालूले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत एक विज्ञप्ति जारी गर्दै तेजप्रतापलाई पार्टी अनुशासन उल्लंघन, गैरजिम्मेवार व्यवहार, र पारिवारिक मूल्यविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै ६ वर्षका लागि पार्टी सदस्यता खारेज गरिएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, “निजी जीवनमा नैतिक मूल्यको बेवास्ता हुँदा सामाजिक न्यायका लागि हाम्रो संघर्ष कमजोर हुन्छ। तेजप्रतापको लोक आचरण र गतिविधिहरूले पारिवारिक संस्कारको अवमूल्यन गरेकोले उनलाई अब पार्टी र परिवार दुबैबाट अलग गरिएको छ।”

यसबारे तेजप्रतापले भने आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गर्दै आएका छन्। हालै उनले अनुष्का यादव नाम गरेकी महिलासँगको व्यक्तिगत सम्बन्धबारे एउटा पोस्ट सार्वजनिक गरेका थिए, जसले राजनीतिक र पारिवारिक विवाद चर्काएको थियो। सो पोस्ट अहिले हटाइएको छ।

सन् २०१८ मा तेजप्रतापले बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए। तर वैवाहिक जीवनमा तिक्तता आएपछि ऐश्वर्याले पति र ससुराली पक्षबाट दुर्व्यवहार भएको आरोप लगाउँदै घर छाडेकी थिइन्।

राजद अध्यक्षको जिम्मेवारी लालूका कान्छा छोरा तेजस्वी यादवले सम्हालेका छन्। उनी विगतमा बिहारका उपमुख्यमन्त्रीसमेत भइसकेका हुन् र हाल प्रदेश सभामा नेता प्रतिपक्षको भूमिकामा छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय