जनकपुर,३० जेठ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई शुक्रबार काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिइएको हो।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुशवाहाका निवासमा यसअघि १२ गते अख्तियारको टोलीले छापा मारेको थियो। उक्त छापामा उनको स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरिएको थियो। छानबिनको क्रममा आयोगले योजनासँग सम्बन्धित विभिन्न कागजात तथा मोबाइल उपकरणहरू बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको थियो।
आयोगका अनुसार सांसद कुशवाहामाथि विभिन्न विकास योजनामा अनियमितता गरेको, सार्वजनिक पदको दुरुपयोग गरी स्वार्थ लिएको र आर्थिक लाभ उठाएको आशंका छ। यसै आधारमा अनुसन्धान तीव्र पारिएको र प्रमाणका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

सांसद कुशवाहाले भने आफूमाथिको आरोप निराधार भएको दाबी गर्दै आएका छन्। तर अख्तियारले प्राप्त प्रमाणहरूले उनीमाथि लागेको आरोप पुष्टि हुने देखिएको बताएको छ।
अख्तियारले हाल प्रदेशस्तरीय योजनामा देखिएको अनियमितता, प्रभावको दुरुपयोग र ठेकेदारसँग मिलेमतोमा हुने कार्यहरूप्रति निगरानी बढाउँदै आएको छ।