रौतहट,१७ वैशाख । रौतहट निर्वाचन क्षेत्र नं. ३ मा निर्माणाधीन आधा दर्जनभन्दा बढी पक्की पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ।
बुधबार ती पुलहरूको स्थलगत निरीक्षण गर्दै रवीन्द्र पटेल ले निर्माण ढिलाइप्रति असन्तोष जनाउँदै अब कुनै बहाना स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले स्थानीयवासीसँग छलफल गर्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने बताए।
सांसद पटेलका अनुसार जनजीवनसँग प्रत्यक्ष जोडिएका पुलहरू वर्षौँदेखि अलपत्र रहनु गम्भीर लापरबाही हो। उनले ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउने वा जिम्मेवार निर्माण कम्पनीमाथि कारबाही गर्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए।
उनले भने, “अब कुनै बहाना हुँदैन, तोकिएको समयभित्र काम सम्पन्न हुनैपर्छ। नभए ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाइनेछ।”
निर्माण अलपत्र, स्थानीयले सास्ती
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाही मुख्य कारण हो। चार वटा ठूला पुलसहित आधा दर्जनभन्दा बढी संरचना वर्षौँदेखि अधुरै छन्।
गुजरा नगरपालिका–१ कोठियारस्थित कोठियार–ब्रह्मटोल तथा रङ्गपुर–लमहा खोला पुल २०७३ सालदेखि निर्माणाधीन छन्, जसको प्रगति करिब ५० प्रतिशत मात्र छ।
त्यस्तै तरही खोला पुल र नमाहा खोला पुलको प्रगति ४५ प्रतिशतमा रोकिएको छ। केही संरचनाको सब–स्ट्रक्चर पूरा भए पनि सुपर स्ट्रक्चरको काम अझै सुरु हुन सकेको छैन।
यसैगरी बालचनपुर–जङ्गलसैया सडकअन्तर्गत लमहा नदी पुलको प्रगति ५३ प्रतिशत पुगेको भए पनि निर्माण ढिलाइ कायमै छ।स्थानीयवासीले पुल नहुँदा वर्षायाममा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र दैनिक आवतजावतमा ठूलो समस्या भोग्दै आएका छन्।

