spot_img

सरुवापछि सम्पर्कविहीन कार्यालय प्रमुखका कारण बाराका योजना अलपत्र

spot_img
spot_img

बारा,१७ वैशाख । पूर्वाधार विकास कार्यालय कलैयाका प्रमुख राजेन्द्र साह सरुवा भएको चार महिना बितिसक्दा पनि रमाना नबुझी सम्पर्कविहीन भएपछि कार्यालयका प्रशासनिक र आर्थिक काम ठप्प भएका छन्। यसले चालु आर्थिक वर्षका विकास योजनाहरू नै प्रभावित बनेका छन्।

कार्यालयकी सूचना अधिकारी आरती चौधरीका अनुसार प्रमुख साहले न त कार्यालयलाई जानकारी दिएका छन्, न त तालुक मन्त्रालय वा स्थानीय प्रशासनलाई। उनको मोबाइल समेत लामो समयदेखि बन्द छ, जसले गर्दा कार्यालय पूर्ण अन्योलमा परेको छ।

कार्यालय प्रमुखको अभावमा जिल्लाभर सञ्चालनमा रहेका ३७८ वटा योजना प्रभावित भएका छन्, जसको कुल लागत करिब १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। उपभोक्ता समिति गठन, टेन्डर प्रक्रिया र बजेट कार्यान्वयन जस्ता काम अघि बढ्न सकेका छैनन्।

विशेषगरी २५ लाखसम्मका साना योजना उपभोक्ता समितिमार्फत सञ्चालन हुनुपर्ने भए पनि हालसम्म कुनै प्रक्रिया सुरु हुन सकेको छैन। यस्तै २५ लाखदेखि माथिका योजनामा पनि टेन्डर आह्वान हुन नसक्दा अधिकांश काम कागजमै सीमित भएको छ।

मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव सञ्जय साहले प्रमुख राजेन्द्र साह बिनाजानकारी सम्पर्कविहीन भएको स्वीकार गर्दै छिट्टै नयाँ प्रमुख पठाइने बताएका छन्। उनका अनुसार नयाँ प्रमुखले जिम्मेवारी सम्हालेपछि रोकिएका कामहरू अघि बढाइनेछ।

राजेन्द्र साह यसअघि पनि आर्थिक अनियमितताको आरोपमा विवादमा आएका थिए। १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। पछि अदालतबाट सफाइ पाएपछि पुनः जिम्मेवारीमा फर्किएका थिए।

कार्यालय प्रमुखकै अनुपस्थितिले जिल्लाका विकास निर्माण कार्य ठप्पजस्तै बनेका छन्। स्थानीय तहका १६ वटै पालिकामा योजनाहरू प्रभावित हुँदा नागरिकस्तरमा असन्तोष बढ्दै गएको छ।

समयमै नेतृत्व नहुँदा बजेट खर्च हुन नसक्ने र योजना अधुरै रहने जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल समाधानको माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय