झापा,१७ वैशाख । झापाकाे कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।
विद्यापानी माध्यमिक विद्यालय को प्र१–०१–००१ ख४४८२ नम्बरको बस विद्यार्थी लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार बसले प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रण गुमाएर सडकमा पल्टिएको थियो।
दुर्घटनापछि बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको टाउको, मुख र खुट्टामा चोट लागेको छ।
दुर्घटनापछि बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

