गुनासोपछि मन्त्री सिंहको आकस्मिक अस्पताल अनुगमनमा

spot_img

सिराहा,१७ साउन ।  अस्पतालको सरसफाइदेखि औषधिको अभावसम्मका गुनासो बढेपछि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले सिरहास्थित प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गरेका छन्। उनले अस्पतालका विभिन्न सेवा कक्षको निरीक्षण गर्दै सुधारका लागि कडा निर्देशन दिएका छन्।

अनुगमनको क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित स्वास्थ्य सेवा, सरसफाइ, औषधिको उपलब्धता र चिकित्सकीय जनशक्तिको व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिए। उनले भने, “स्वास्थ्य सेवा कुनै पनि नागरिकको आधारभूत अधिकार हो, उपचारका लागि आउने बिरामीले अपमानित महसुस गर्नु हुँदैन।”

उनले अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई नागरिकमैत्री व्यवहार अपनाउन र सेवामा सुधार ल्याउन आग्रह गरे।

मन्त्री सिंहले आइसियू, एनआइसियू, आकस्मिक कक्ष तथा बाहिरङ्ग सेवाहरूमा विशेष ध्यान दिनुपर्ने बताए। उनले चिकित्सक र कर्मचारीहरूलाई संवेदनशील, उत्तरदायी र जिम्मेवार भएर काम गर्न आग्रह गरे।

१५० शय्याको उक्त अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री सिंहले जनाएका छन्। “यो अस्पताललाई आधुनिक सेवा दिने क्षमतामा पुर्‍याउन प्रदेश सरकार आवश्यक पहल गर्छ,” उनले स्पष्ट पारे।

spot_img

ताजा अपडेट

लोकप्रिय