काठमाडौं,२३ साउन । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा यौन दुर्व्यवहारबारे जनचेतना फैलाउन नयाँ ‘सर्च गाइड’ सेवा सुरु गरेको छ। शुक्रबारदेखि लागू भएको यो फिचरले यौन हिंसाबाट प्रभावित प्रयोगकर्तालाई सहायतामूलक सामग्री र आवश्यक जानकारीको पहुँच सहज बनाउने लक्ष्य लिएको छ।
टिकटकका अनुसार यो सुविधा प्लेटफर्मको समग्र डिजिटल सुरक्षा अभियानको हिस्सा हो, जसले सुरक्षित, सहायक र जानकारीमूलक अनलाइन वातावरण निर्माण गर्न योगदान पुर्याउनेछ।
अबदेखि नेपालमा ‘सेक्सुअल असल्ट’, ‘अब्युज हटलाइन’, ‘मी टू’ जस्ता शब्दहरू खोज्दा, प्रयोगकर्तालाई स्थानीय हेल्पलाइन नम्बर, टिकटकको सेफ्टी सेन्टर र सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने सूचना देखाइनेछ।
उक्त पेजमा यौन दुर्व्यवहारको स्वरूप, उजुरी गर्ने प्रक्रिया, सहायता उपलब्ध गराउने संस्थाहरूको लिङ्क, र मानसिक स्वास्थ्यसँग सम्बन्धित सामग्री उपलब्ध छन्।
टिकटकका ट्रस्ट एन्ड सेफ्टी विभागका आउटरीच तथा पार्टनरसिप म्यानेजर वास्कितो जटीले भने,“हामी बुझ्छौं, धेरै पीडितहरू अनलाइन सहयोग खोज्न आउँछन्। त्यसैले हामी अग्रसर भई उनीहरूलाई आवश्यक जानकारी र सहयोगको बाटो देखाउन चाहन्छौं।”
यो नयाँ फिचरले प्रयोगकर्तालाई गोपनीयता सुरक्षित राख्दै हानिकारक सामग्रीबाट टाढा रहन प्रेरित गर्नेछ। साथै, इन-एप उजुरी प्रणाली र बाह्य उजुरीका विकल्पहरू समेत सजिलो रूपमा उपलब्ध गराइनेछ।
टिकटकले पीडितहरूको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहायता दिने स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आधारित डेटाबेस पनि उपलब्ध गराएको छ।
साथै, पुनःस्थापनासँग सम्बन्धित ह्यासट्याग अभियानहरू र कन्टेन्टहरूलाई प्राथमिकता दिँदै पीडित र उनीहरूका सहायकलाई सशक्त बनाउन काम गरिरहेको छ।
टिकटकले यो पहललाई आफ्नो कम्युनिटी गाइडलाइन्स, शैक्षिक सहकार्य, र प्लेटफर्म स्तरका डिजिटल सुरक्षा प्रयासहरू अन्तर्गत निरन्तर जारी राख्ने बताएको छ। मानसिक स्वास्थ्य र पीडितको अधिकारमा काम गर्ने संस्थासँग सहकार्य गर्दै, टिकटक प्रयोगकर्ताको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्याएको छ।

