काठमाडौं,२३ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा भएको यो खेलमा नेपालले निकै संघर्षपूर्ण जित निकालेको हो । खेलको निर्धारित ९० मिनेट सकिनै लाग्दा शुक्रिया मियाँले निर्णायक गोल गरिन्। उनले मिना देउवाको पासमा बललाई जाली चुमाएकी थिइन्। नेपालले खेलको ३७औं मिनेटमा पेनाल्टीको अवसर पाए पनि मिना देउवाको प्रहार बारमा लागेर फर्किएको थियो। यस जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ। पहिलो खेलमा भुटानसँग १-१ को बराबरीमा रोकिएको नेपालको समूहमा अब बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ।
साउदी अरेबिया भने पहिलो खेलमा उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो। यो जितले नेपालको एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ।



