अमेरिकी दबाबपछि जापानले व्यापार वार्ता स्थगित

spot_img

काठमाडौँ,१६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमाथि अमेरिकी चामलका लागि बजार खुला गर्न दबाब दिएपछि जापानका मुख्य व्यापार वार्ताकार रयोसेई अकाजावाले आगामी अमेरिका भ्रमण रद्द गरेका छन्।
निक्केई एसियाका अनुसार, अकाजावा अगस्ट २८ मा वाशिंगटन डीसीको भ्रमणमा जान तयारी गरिरहेका थिए। तर, ट्रम्प प्रशासनले अमेरिकी चामलको खरिद बढाउन दबाब दिएको कारण भ्रमण स्थगित गरिएको हो।

अकाजावा अमेरिकाबाट जापानी उत्पादनहरूमाथिको ट्यारिफ घटाउने लिखित वाचा प्राप्त गर्ने उद्देश्यले भ्रमण तय गर्न लागेका थिए। तर, त्यस्तो आश्वासनको सम्भावना नदेखिएपछि उनले भ्रमण रद्द गर्ने निर्णय लिएका हुन्। ट्रम्प प्रशासनले पहिले जापानमाथि ट्यारिफ घटाउने दबाब दिएपछि अहिले अमेरिकी कृषि उत्पादन—विशेषगरी चामल—को आयात बढाउन आग्रह गरेको जापानी अधिकारीहरूले जनाएका छन्।

यसको सट्टामा जापानले अमेरिकी अटोमोबाइलमाथिको ट्यारिफ घटाइने अपेक्षा गरेको थियो। तर, ट्रम्पबाट कुनै ठोस ग्यारेन्टी नआएपछि वार्ता अवरुद्ध भएको हो। अकाजावाले पत्रकार सम्मेलनमा भने, “धेरै यस्ता विषयहरू छन् जसमा अझै थप कुराकानी आवश्यक छ। अहिलेको लागि भ्रमण स्थगित गरिएको हो, तर भविष्यमा पुनः सम्भावना खुला छ।”

यदि जापानले अमेरिकी चामलको आयात बढायो भने त्यसले घरेलु कृषकहरूलाई गम्भीर नोक्सानी पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरिएको छ। कृषक वर्ग रुष्ट हुने सम्भावनालाई मध्यनजर गर्दै जापान सरकारले अमेरिकासँग सम्झौतामा सतर्कता अपनाएको हो।

ह्वाइट हाउसले भने जापान जुलाईमै अमेरिकी चामल आयात कोटामा ७५ प्रतिशत वृद्धि गर्न सहमत भएको दाबी गरेको थियो। तर जापानी प्रधानमन्त्री सिगेरु इसिबाले त्यस्तो सहमति नभएको र आफ्ना किसानहरूको अहित हुने कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

विश्लेषकहरूका अनुसार जापान र अमेरिकाबीचको व्यापार वार्ताको मुख्य बाधा आपसी विश्वासको कमी हो। अमेरिका चाहन्छ कि जापानले आफ्नो करिब ५५० अर्ब डलरको लगानीमा आधारित वाचा लिखित सम्झौतामा बदलोस्। उता जापान पनि लेखि‍त ग्यारेन्टी बिना अमेरिकी अटोमोबाइल ट्यारिफ घटाउने कुरामा विश्वस्त छैन।

सन् २०२४ मा अमेरिका र जापानबीच करिब १४८ अर्ब डलरको आयात-निर्यात कारोबार भएको थियो। अमेरिकाले जापानबाट करिब १४८ अर्ब डलरको सामान आयात गरे पनि जापानले अमेरिका तर्फ जम्मा ८० अर्ब डलरको निर्यात मात्र गरेको तथ्यांक छ।

जापानको मुख्य निर्यात वस्तु कार, अटो पार्ट्स, इलेक्ट्रोनिक्स, मेसिनरी र उच्च प्रविधि उत्पादनहरू हुन्। प्रधानमन्त्री इसिबाले अमेरिकी आर्थिक प्रभावलाई ‘राष्ट्रिय संकट’को रूपमा व्याख्या गर्दै देशलाई बढी आत्मनिर्भर बनाउने प्रतिवद्धता जनाएका छन्। यद्यपि, सुरक्षा गठबन्धन र कूटनीतिक दबाबका कारण जापान अझै अमेरिकासँग वार्ता गर्न बाध्य देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय