काठमाडौं,१६ भदाै । अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ भने १५०० भन्दा बढी घाइते भएका छन्।
पूर्वी प्रान्त कुनारका तीन गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्। कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको पुष्टि भएको छ भने नाग्गाहारमा १२ जनाको मृत्यु भएको छ। खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरिएको छ।
भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावादबाट करिब २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा रहेको थियो। केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।
मध्यरातमा आएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामिण घरहरू भत्किएका छन्। सञ्चारमाध्यममा आएका भिडियो फुटेजमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गर्ने दृश्य देखिएका छन्। अधिकारीहरूले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य तीव्र रूपमा जारी रहेको बताएका छन्।
तालिबान सरकारले संकटग्रस्त क्षेत्रमा उद्धार र राहतका लागि सबै टोली परिचालित गरेको जनाएको छ। आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीका अनुसार सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणमा प्रयास भइरहेको छ।
अफगानिस्तानमा २०२२ मा पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा करिब एक हजार मानिसको मृत्यु भएको थियो। गत राति आएको भूकम्प त्यसैभन्दा ठूलो मानिएको छ।

