काठमाडौं,१७ भदौ । राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। यो प्रतिवेदन सोमबार पेस हुने तालिका भए पनि समितिमा छलफल नसकिएपछि स्थगित भएको थियो।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
आजै दुई संसदीय समितिहरू — राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। राज्यव्यवस्था समितिको बैठकमा हालसम्मको काम कारबाहीको समीक्षा हुनेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।

