काठमाडौँ,१८ भदौ । पाकिस्तानको क्वेटमा बलोचिस्तान नेशनल पार्टी (बीएनपी)को एक र्यालीपछि भएको विस्फोटमा १३ जना मारिएका छन् भने ३१ जना घाइते भएका छन् । बैठक सकिएपछि बैठकस्थलभन्दा केही दूरीमा साथीलाई पर्खिरहेका बेला अचानक शक्तिशाली विस्फोट भएको घाइते जमान बलोचले बताएका छन् ।
बीबीसी उर्दुका अनुसार विस्फोटपछि कैयौं मानिसहरु जमिनमा ढलेका थिए र जताततै चिच्याहट सुनिरहेको उनले बताएका छन् । बलोचिस्तान नेशनल पार्टीका केन्द्र सूचना सचिव आगा बलोचले यो विस्फोट नवाब नियाज जेहरीको गाडीको नजिक भएको थियो । विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् ।
राज्य सरकारले यस घटनाको अनुसन्धानका लागि सुरक्षा निकायलाई आदेश दिएको छ । बलोचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले घटनाको निन्दा गर्दै यो विस्फोट ‘मानवताविरोधीको कारयतापूर्ण कार्य’ रहेको बताएका छन् । उनले भनेका छन्, ‘आतंकवादीको यो बर्बरतालाई कुनै हालतमा अन्त्य गरिनेछ ।’



