काठमाडौं,२० भदौ । हमासले प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई इजरायलले खारेज गर्दै गाजामा सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ।
हमासले बन्दी आदानप्रदान, इजरायली फौजको फिर्ता, सीमा नाकाहरू सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माणसमेत समेटिएको व्यापक सम्झौता अघि सारेको थियो। साथै, प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गर्ने प्रस्तावसमेत गरेको थियो।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त प्रस्तावलाई “प्रचारात्मक चाल” मात्र भन्दै अस्वीकार गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले गाजामा इजरायली सुरक्षा नियन्त्रण, निरस्त्रीकरण, गैरप्यालेस्टाइनी प्रशासन गठन र सबै इजरायली बन्धकहरूको मुक्तिसहितका शर्तहरू पूरा भए मात्र युद्ध अन्त्य गर्ने अडान पुनः दोहोर्याएको छ।
इजरायलको यो कदमले गाजाको संकट झनै गहिरिने संकेत गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन्।

