spot_img

पर्सा–बारामा हैजाविरुद्ध खोप अभियान सुरु हुने

spot_img
spot_img

बीरगन्ज,२३ असोज । नेपालमा हैजाको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यसको नियन्त्रणका लागि सरकारले पर्सा र बारा जिल्लाका उच्च जोखिमयुक्त क्षेत्रहरूमा हैजाविरुद्धको खोप अभियान सुरु गर्न लागेको छ। परिवार कल्याण महाशाखाका अनुसार, विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित इयूभिकोल–एस नामक खोपको १० लाख १८ हजार मात्रा प्राप्त भएको छ।

पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा असोज २६ गतेदेखि अभियान सुरु हुनेछ। त्यसैगरी बारा जिल्लाको कलैया, जीतपुर–सिमरा उपमहानगरपालिका लगायत ६ स्थानीय तहमा असोज २९ गतेदेखि अभियान सुरु हुनेछ।
यो खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई एक मात्रा मात्रै मुखबाट खुवाइनेछ।

महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार पर्सामा ६ लाख ५२ हजार र बारामा ३ लाख ६३ हजार गरी कूल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। खोप केन्द्रहरू विद्यालय, स्वास्थ्य संस्था, मन्दिर, मस्जिद र बसपार्क जस्ता सार्वजनिक स्थानहरूमा समेत सञ्चालन गरिनेछ।

पर्साको वीरगन्ज महानगरपालिकाको मुरली टोलबाट भाद्र ६ गतेदेखि फैलिएको हैजाको संक्रमणबाट अहिलेसम्म १ हजार ६८५ जनामा पुष्टि भइसकेको छ। डा. लालले खोपले प्रकोप नियन्त्रणमा सहयोग गरे पनि हैजा रोकथामका लागि शुद्ध पानी पिउने र सरसफाइमा ध्यान दिनु नै प्रमुख उपाय रहेको स्पष्ट पारेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय